ज्वरोको बिरामीलाई उपचार गर्न मानदैनन चिकित्सक ,अस्पतालमा उपकरणको आभाव

March 27, 2020


कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोकथामका लागि प्रदेश २ सरकारले काम थालेको छ । रोकथामका विभिन्न कामहरुको लागि बजेट समेत छुट्टयाइसकेको छ । तर, यसको तयारी भने सन्तोषजनक नभएको जानकारहरु बताउँछन् ।तर अहिले सम्म अस्पतालमा आवश्यक पर्ने उपकरणको आभाव देखिएको छ जनकपुरमा भने । सरोवारा निकायहरु भने तयारीको प्रोपगण्डा मात्रै फैलाउनमा व्यस्त देखिएका छन ।
कोराना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी अस्पताललाई तोकिएको छ ।
तर, दुबै अस्पताल पूर्ण रुपमा तयार भइसकेका छैनन् । प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादव यी दुई अस्पतालको भौतिक पूर्वाधार एकरदुई दिनमै व्यवस्थित भइसक्ने दाबी गर्छन् । अहिले अस्पतालहरुको उपकरणको आवभाव देखिएको कारणले अस्पतालमा आउने गरिएको बिरामीहरुलाई उपचारमा समेत समस्या हुने गरिएको छ। कुनैपनि ठाउमा अहिले क्वाराटाईन्सको निर्माण हुन सकेको छैन । प्रदेश सरकारले स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउन नसकेपछि प्रादेशिक अस्पतालमा शंकास्पद बिरामीको जाँच हुन नसकेको हो । कतिपय शंकास्पद बिरामीहरुलाई जाँचै नगरी सोझै काठमाडौं पठाउने गरेको पाइएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउनलगायतका सामान्य सामग्रीसमेत उपलब्ध हुन नसकेको कार्यरत नर्सहरु बताउँछन् ।
अस्पतालमा कार्यरत नर्सहरुले आफूहरु स्वयं सुरक्षित नरहेकोले बिरामी नजिक जान कठिनाइ भएको बताएका छन् । अस्पतालले आफूहरुलाई पञ्जा, स्यानिटाइजर, गाउनलगायत सामान्य सामग्रीसमेत उपलब्ध नगराएको उनीहरुको भनाइ छ।
सुरक्षाका आवश्यक सामग्रीहरु अस्पतालले उपलब्ध नगराएसम्म आफूहरु काम नगर्ने उनीहरुको भनाइ छ । ‘अहिले विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएको छ, हामीलाई पीपीई त परै जाओस्, पञ्जा, गाउनसमेत उपलब्ध छैन, कसरी बिरामी नजिक जाने ?,’ अस्पतालमा कार्यरत नर्स भन्छन्।कोरोना संक्रमणको हल्ला चलेदेखि आफूहरुले सुरक्षा सामग्री उपलब्ध गराउन भने पनि अस्पताल व्यवस्थापनदेखि प्रदेश सरकार र स्थानीय सरकारले कुनै चासो नदिएको नर्स विभा कर्णले बताइन् ।
‘कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारले चासो लिनुपर्ने हो तर त्यसतर्फ सरकारले ध्यान दिएको छैन । अहिलेसम्म हामी जोखिम मोलेर काम गरिरहेका छौं । तर, अब सम्भव देखिन्न । हाम्रो आफ्नै सुरक्षाको कुनै ग्यारेन्टी भएन, कसरी काम गर्नु ? कर्णले बताइन् । कोरोनाविरुद्ध लड्न प्रदेश २ सरकारले बिहीबार मात्रै २५ करोड रुपैयाँको कोष स्थापना गरेका छन् । कोषमा मन्त्रीहरुले एक महिनाको तलबसमेत दिएका छन् ।
यसअघि प्रदेश सरकारले प्रत्येक जिल्लालाई ५० लाखका दरले रकम उपलब्ध गराइसकेको छ । पूर्वसतर्कता अपनाउनका लागि स्वास्थ्य निर्देशनालय र प्रादेशिक अस्पताललाई पनि प्रदेश सरकारले रकम उपलब्ध गराएको छ । । ‘हामीसँग रकमको अभाव छैन’ प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह भन्छन्, ‘रकम हुँदाहुँदै पनि उपकरण पाइरहेको अवस्था छैन ।’
स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), तापक्रम नाप्ने थर्मल गनसहितका उपकरण नपाएको उनले बताए । कोरोना परीक्षण गर्ने आरटी–पीसीआरको पनि खोजी भइरहेको तर फेला पार्न नसकिएको साहले बताए ।


स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा पनि उपकरण पाउन गाह्रो भइरहेको बताउँछन् । ‘हामीले काठमाडौं, विराटनगरसहित मुख्य शहरहरुमा खोजी गर्दा पनि पाएनौं’ उनले भने ।सहनिर्देशक झाले संघीय स्वास्थ्य मन्त्रालयसँग पटक–पटक उपकरणका लागि आग्रह गरिए पनि पाउन नसकेको सुनाए । उनका अनुसार पाँच हजार थान पीपीई, दुई सय थान थर्मल गन र दुई लाख मास्क माग गरिए पनि आएको छैन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH