जनकपुर पुर्णरुपमा लकडाउन , उल्लंघन गर्नेहरु कारवाहीमा

March 24, 2020

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन आज जनकपुर पूर्णरूपमा ठप्प भएको छ । जनकपुरस्थित सबै बजार र बजारका सम्पूर्ण पसलहरु बन्द छन् भने सवारी साधन पनि पूर्णरूपमा बन्द छन् ।

बिहान केहीबेर छिटपुटरूपमा सञ्चालनमा रहेका मोटरसाइकलसमेत प्रहरीले रोकेको छ । जनकपुरको जिरोमाइलबाट प्रहरीले ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । कोरोनाबाट यसैगरी जबरजस्ती मोटरसाइकल चलाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ । लकडाउनको उल्लङ्घन गर्दै अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्नेलाई पक्राउ गर्न र जथाभावी गर्नेलाई बल प्रयोग गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अहिले जनकपुरको विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन भएको छ । सुरक्षाकर्मीले घरबाट बाहिर निस्कनेलाई अतिआवश्यक काम बाहेक घर फर्काउने र सम्झाउने गरिरहेका छन् । नमान्नेलाई पक्राउ गर्न तथा जथाभावी गर्नेलाई लठ्ठीसमेत प्रयोग गर्न प्रशासनले निर्देशन दिएको छ । पास बाहेकका सवारीसाधन सडकमा गुडाउन प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले केही सरकारी गाडी, सञ्चार तथा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पासको व्यवस्था गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषप्रसाद निरौलाले लकडाउनलाई पूर्णरूपमा पालन गर्न सबैसँग आग्रह गर्नु भएको छ । सरकारको आदेश उल्लङ्घन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुनसक्ने निरौलाले जानकारी दिनुभयो । प्रजिअ निरौलाले अहिलेसम्म घरबाहिर निस्केकालाई सम्झाइबुझाई फिर्ता पठाइएको र जबरजस्ती गरे नियन्त्रणमा लिई कारवाही हुने जानकारी दिनुभयो । जसअनुरुप नागरिकहरुलाई अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र सवारीसाधन नचलाउन सरकारले आग्रह गरेको छ। तर, लकडाउनको पहिलो दिन नै मानिसहरु आआफ्ना घरबाट बाहिर निस्किएको र सवारी साधन समेत चलाइरहेको देखिएको छ । कोरोनाभाइरसबाट भयावह स्थिती आउन सक्ने भन्दै आज बिहान ६ बजेबाट लकडाउन घोषणा गरिएपनि सवारी साधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी अटेर गरेको भन्दै ट्राफिक प्रहरीले धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट समाचार तयार पार्दासम्म २ सय ६१ थान सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरि अटेर गरेकाले उनीहरूको सवारी साधनलाई नियन्त्रणमा लिइएको बताए । मोटरसाइकल, चारचक्का, ट्रक, ट्रिपरले, ईरिक्सा र खाली गाडी गरि अहिलेसम्ममा २ सय ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH