प्रदेश नम्बर २को अधिकांस नाका बन्द

March 23, 2020

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकासहित भारतसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणबाट जोगिनका लागि सबै नाका बन्द गरिएको भए पनि नाकामा अति आवश्यक समस्या र काम परेका बेला त्यसलाई विशेष स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्थासमेत मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सप्तरीको सिमानासँग जोडिएको विहार राज्यमा भाइरस सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाइएको छ । भारतबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत सप्तरी प्रशासनले मिलाएको जनाइएको छ । क्वारेन्टाइनमा राख्नका लागि राजविराजस्थित बन्द अवस्थामा रहेको साइकृष्णा अस्पतालमा ५०÷६० श्यया तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट आउने व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने तथा त्यसपछि अवस्था पहिचान गरेर मात्रै घर फर्काउने वा आइसोलेसन कक्षमा पठाउने तयारीसमेत गरिएको छ । त्यस्तै आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्यया तथा छिन्नमस्ता अस्पतालमा २० श्यया, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी ५६ श्यया तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भाइरसको सङ्क्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यकरूपमा हिँडडुल नगर्न तथा घरभित्रै बस्न सप्तरी प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरसबाट जोगिन छुट्टै आइसोलेसन कक्ष स्थापना गरिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । उहाँका अनुसार वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा आइसोलेसन वार्ड तथा फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । स्थापना गरिएको फिवर क्लिनिकमा ज्वरो, रुघाखोकीका बिरामीको मात्र जाँच गरिने व्यवस्था गरिएको छ । अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा कोरोना भाइरसको शङ्कास्पद बिरामीको नमूना सङ्कलन गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दासले जानकारी दिनुभयो । गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यकर्मी पूर्णरूपमा तयारी अवस्थामा रहेको जानकारी दिँदै उहाँले अस्पतालभित्र सेवा लिन आउने सेवाग्राहीका लागि कोरोना भाइरसबाट जोगिन साबुनपानीले हात धुने व्यवस्थासमेत गरिएको बताउनुभयो । यस्तै सप्तरीको राजविराज हनुमानगर रोडमा रहेको साइकृष्णा मेडिकल कलेजको भवनमा क्वारेन्टाइनका रूपमा प्रयोग गरिने तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा दासले बताउनुभयो । अस्पतालको फिवर क्लिनिकमा आएका शङ्कास्पद बिरामीलाई साइकृष्णा मेडिकल कलेज भवनको क्वारेन्टाइनमा निगरानीमा राखेर उपचार गरिने छ । त्यस्तै राजविराजको छिन्नमस्ता अस्पताल र युनिक अस्पतालले समेत शङ्कास्पद बिरामीका लागि २० श्ययाको आइसोलेसन वार्ड राखेको बताइएको छ ।

सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि एकाबिहानै काठमाडौँलगायत नेपालका विभिन्न शहरमा काम गर्ने भारतीय आफ्नो देश फर्किने क्रममा वीरगञ्ज नाका हँुदै भारततर्फ जानेहरुको बिहानैदेखि ताँती नै लागेको थियो । अति आवश्यक सामान बोकेका मालबाहक ट्रक, तेल बोकेका ट्याङ्कर एकाबिहानै भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको छ । भारतबाट नेपाल आउने पैदलयात्रीलाई जाँच गरी तथा हेल्थ डेस्कमा स्वास्थ जाँच गरी छाड्दै गरेको छ । त्यहाँ रहेका वीरगञ्ज महानगरपालिकाका अहेव जितेन्द्रप्रसाद गुप्ताले थर्मामिटरबाट सामान्य जाँच गरी छाड्ने गरेको छ । एक जना मात्र स्वास्थकर्मीले पैदलयात्रीलाई स्वास्थ जाँच गर्ने गरेकाले भीडको कारण समस्या परेको बताएका छन् । आज बिहानैदेखि नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ एक हजारभन्दा बढी पैदलयात्री प्रवेश गरेको त्यहाँ रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको विहारमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएपछि सो रोगको सङ्क्रमण फैलिन नदिन नेपाली सीमामा रहेका सशस्त्र प्रहरी तथा नेपाली सेनाले कडाइका साथ जाँच गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ । यसैबीच जिल्ला प्रसाशन कार्यालय पर्साको आइतबार बसेको सुरक्षा समितिको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज रक्सौल नाका भएर नियमितरूपमा आवतजावत गर्नेबाहेक भारतका विभिन्न स्थानबाट आउने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH