नेपालमा पत्रकार महासंघले मेयर विरुद्ध अदालतमा मुद्दा हाल्ने

March 14, 2020


नेपाल पत्रकार महासंघ धनुषा शाखाले संचारकर्मीहरुलाई घेराबन्दी गरेर कुटपिट सहित संचार सामग्री खोस्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साह सहित कुटपिटमा संग्लन कर्मचारीमाथि अदालतमा मुद्दा दायर गर्ने भएको छ । नेपाल पत्रकार महासंघ धनुषामा बसेका संर्घष समितिको बैठकले यस्तो निर्णय गरेको हो । आफुहरुले अघि सारेको मांगमा कुनै सुनवाई नभएपछि मुद्दा दर्ता गराउने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णको संयोजकत्वमा रहेको सो संघर्ष समितिले ७ दिनभित्र पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित समाचार सम्प्रेषण गरेका लाई कारवाही तथा घटनालाई बढाई चढाई पत्रकारलाई अपहेलित हुने गरी संचार माध्यम विरुद्ध समेत मुद्दा हाल्ने निर्णय गरिएको जनाइएको छ ।
समितिको निर्णय विपरित समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानबीनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दिपक कर्णको सहभागितामा ३ सदस्य समिति समेत गरिएको छ । सो समितिले छानबीन गरी प्रतिवेदन महासंघको जिल्ला शाखालाई बुझाउने छ र सोही प्रतिवेदनका आधारमा महासंघले कारवाही प्रक्रिया अघि बढाउने छ ।
जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई योजनाबद्ध तरिकाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्ष र उनकै उपस्थितिमा कुटपिट गरिएको थियो । घटना पश्चात उपमहानगरपालिकाले केही पत्रकारको नामै किटान गरी अपराधी र गुण्डा लगायतका शब्द प्रयोग कारवाहीको मांग गर्दै निर्णय गरेको थियो ।
उपमहानगरपालिका केही कर्मचारी र वाह्य व्यक्ति सम्मिलित समूहको आक्रमणबाट पत्रकार राजा झा, अमरकान्त ठाकुर, सुभाष कर्ण र सुमित मिश्रालाई कुटपिट गरिएको थियो । कुटपिट गर्नुका साथै पत्रकारहरुको संचार सामाग्री क्यामेरा र मोबाइल समेत खोसेर तोडफोड गरिएको थियो ।
घटनाको केही दिनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अगुवाई सर्वपक्षीय बैठकबाट घटनामा संलग्नहरुलाई कारवाही गर्ने निर्णय गरिएको थियो । तर सो निर्णय आजसम्म कार्यान्वयन हुन सकेको छैन । धमेन्द्र साह भन्ने एक व्यक्तिलाई पक्राउ गरिएपनि जनकपुर उद्योग वाणिज्य संघको दबावमा धरौटीमा जिल्ला प्रशासन कार्यालयले रिहा गरेको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH