नवनियुक्त भारतीय राजदूतव्दारा शिष्टाचार भेटवार्ता

March 5, 2020

जनकपुरधाम – भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक विश्व प्रख्यात नेता मोहनदास करमचन्द गान्धीकाे बारेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेकाे लेख समेटिएकाे एक पु्स्तक नेपालका लागि नव नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले उप–राष्टपति नन्द बहादुर पुन, उप–प्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई उपहार स्वरूप दिएका छन्।

भारतीय राजदूत क्वात्राले औपचारिक रूपमा गरेकाे छुट्टा छुट्टै शिष्टाचार भेटवार्तामा उप–राष्टपति पुन, उप–प्रधान तथा रक्षामन्त्री पाेखरेल र परराष्ट्रमन्त्री ज्ञवालीलाइ ‘ह्वाट गाँधी मिन्स टू मी’ नामक पुस्तक उपहार स्वरूप दिएका हुन्। आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र भारतीय राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरे लगत्तै उप-राष्ट्रपति पुन, उप–प्रधानमन्त्री पाेखरेल र परराष्ट्रमन्त्री ज्ञवालीसँग औपचारिक शिष्टाचार भेटवार्ताकाे क्रममा ‘ह्वाट गाँधी मिन्स टू मी’ नामक पुस्तक दिँदै नेपाल भारतकाे सम्बन्ध थप उचाइमा पर्याउने बताए। याे पुस्तक प्रमुख लेखकहरूकाे एक संकलन हाे। भारतीय राजदूत क्वात्रा नेपालका लागि २५औं राजदूत हुन्।

डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए। भारतीय विदेश मन्त्रालयले गत जनवरी ३० मा नै क्वात्रालाई नेपालका लागि राजदूत नियुक्तिको निर्णय सार्वजनिक गरेको थियोे । तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् । क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ । क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH