सर्वधर्मको एउटै धाम, कुल देवताधाम

March 5, 2020


गोबिन्द महतो ÷ जनकपुरधाम
विश्वमा छरिएर रहेका सम्पुर्ण मानव समुदाय तथा जातजातिहरुको धार्मिक सहिष्णुतालाई ख्याल गरी सर्लाहीमा कुलदेवता धाम निर्माणको प्रारम्भिक काम सुरु भएको छ । बिभिन्न धर्मप्रति आस्था राख्ने हरेक भुगोल, धर्म, संस्कृति, भेषभुषा, जातजाति अनुसार फरक–फरक समुदायले मान्ने कूलदेवताको मन्दिर एकै ठाउँमा निर्माणको काम सुरु भएको हो । सबै धर्मको मठ, मन्दिर, मस्जिद भएको सर्वमान्य धामको सहित कुल देवताधामको परिकल्पना गरी काम अघि बढाईएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका नाडी ताल स्थित ५ विघा क्षेत्रफलमा विश्व समुदायमा रहेका हरेक जातजाति, भेषभुषा, धर्म तथा संस्कृतिको कूल देवताको मन्दिर निर्माण गर्न लागेका हौं, भोरका अध्यक्ष राजकुमार महतोले भने, ‘हरेक समुदायको मान्ने धर्म, पुजा गर्ने भगवान फरक हुन्छन, एकथरी मन्दिर गएर पूजा–पाठ, तप–जप, शंख–घण्ट, भजन–किर्तन, तीर्थाटन गर्छन, अर्काथरी चर्चमा प्रार्थना गर्दै बपतिस्मा बाइबल पढ्नुपर्ने, अर्कोथरी गुम्बा धाउनुपर्ने, कोही मस्जिद धाउनुपर्छ भन्छन ।’ तर हामी सबै वर्ग, धर्म, समुदाय र जातिलाई जोडन कुलदेवता धामको परिकल्पना गरेको जनाए ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महतोले धार्मिक सहिष्णुता, जातीय सद्भाव र एकता तथा देवता एक ठाउँमा बस्न सक्ने भए मानिस किन बस्ने नसक्ने अभिप्रायका साथ कुल देवता धामको परिकल्पना सुरु गरिएको जनाए । उनले भने, ‘सबै धर्मको आस्था भनेको मानव जीवनको कल्याण हो, यो आस्था सबैमा कायम रहेपनि हिन्दु, मुस्लिम, बौद्ध, ईशाई सबै धर्मलाई एकै ठाउँमा समेटिन सकिएको छैन्, एउटा धर्मको आस्था, विश्वास, सहिष्णुता, सद्भावलाई अर्को ठाउँमा पुग्न दिईदैन, जसले मानिस–मानिस बीचमा दुरीको वातावरण सृजना गरिरहेको छ, यसलाई हटाउन तथा अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धनका लागि हामीले कुलदेवता धाम अभियान थालेका हौं ।’
संस्कृतिविद् तथा पूर्व प्राज्ञ रामभरोष कापडि ‘भ्रमर’ले वेद पुराण, शास्त्रीय देवता, लोकदेवता, जातिय देवता सहितका चर्चा गर्दै परम्परागत विश्वाससंग जोडिएको देवताको प्रतिमा स्थापना अग्रणी कार्य भएको बताए । उनले भने, ‘बढ्दो विज्ञान र प्रवृद्धिको युगमा छोड्दै आएको परम्परा तथा लोक देवतालाई एकै ठाउँमा स्थापित गर्नु गराउनु सबै जातजाति तथा धर्मलाई एकताको सुत्रमा बाध्नु सरह हो ।’ देवतातुल्य कुल देवतालाई एकै ठाउँमा स्थापित गरी पुस्तान्तरण हस्तान्तरण समेत भएको कापडिको तर्क थियो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले भोरको दोश्रो दशक (२०२०–३०) अन्तर्गते कुल देवताधाम निमार्णले प्रदेश २ मा एउटा नविन, अदभुत र अतुलनिय पर्यटक स्थलको स्थापना हुने बताए । उनले भने, ‘प्रत्येक कुल देवताको आकृति कोर्न र सोही अनुसार मुर्ति, आकृति र मन्दिर निर्माण गरिनु आफैमा उत्कृष्ठ हो ।’ यस प्रकारको कुल देवताधाम विश्वको कुनै पनि देशमा नभएकोले यो एउटा उल्लेखनीय स्थल हुनेछ ।
मुस्लिम धर्मगुरु अब्दुल अजिजले हिन्दु–मुस्लिम तथा अन्य धर्मका धार्मिक मुर्ति र मन्दिर एकै स्थानमा बनाउने कुल देवताधामले समाजमा विद्यमान नाकारात्मक सोच र मानसिकतालाई सकारात्मक दिशा तर्फ लाने विश्वास व्यक्त गरे । उनले भने, ‘जातिय सद्भाव, समाजिक एकता कायममा ठुलो भुमिका निर्वाह गर्नेछ ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH