संरक्षणको पर्खाइमा शङ्करपुर ताल

March 2, 2020

सरकारले यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाइरहँदा धेरै महत्व बोकेको जिल्लास्थित शङ्करपुर तालको प्रचार प्रसार हुन सकिरहेको छैन । तालको संरक्षण गर्न नसक्दा यसको क्षेत्रफलसमेत दिन प्रतिदिन घट्दै जान थालेको गुनासो स्थानीयवासीको छ ।

आदिवासी थारु, मधेशीको ऐतिहासिक, साँस्कृतिक, सामाजिक, कृषि तथा आर्थिक पक्षसँग जोडिएको यो तालको क्षेत्रफल करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ । जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ । जिल्ला सदरमुकाम तौलिहवाबाट ६० किलोमिटर पश्चिममा अवस्थित शिवराज नगरपालिका र पूर्वपश्चिम राजमार्गदेखि करिब ७÷८ किलोमिटरको दूरीमा रहेको यो ताल विजयनगर गाँउपालिका–४ मा पर्दछ । यो प्राकृतिक सिमसार ताल हो । पुर्खाहरुको भनाइअनुसार यो पुस्तौँ पुरानो ताल हो ।

जैविक विविधतामध्ये यो तालमा सबैभन्दा बढी प्रजातिका स्थानीय रैथाने माछाहरु पाइन्छन् । प्रारम्भिक अध्ययनअनुसार शङ्करपुर सिमसार क्षेत्रमा स्थानीय जातका विकासी माछा, चरा, किरा, भ्यागुता, सर्प र कछुवा सहित विभिन्न २१ जातका स्थानीय वनस्पति पाइन्छन् । शङ्करपुर तालमा पाइने मुख्य चराहरुमा बकुल्ला, जलेवा, पानीहाँस रहेका छन् । शङ्करपुर ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ । वरिपरि मावन बस्ती रहेको तालमा फोहर फाल्न, सुत्केरी तथा महिनावारी भएका महिलाले नुहाउन तथा लास जलाउन निषेध गरिएको छ । परापूर्वकालमा यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको र देवीले देवताहरुलाई जम्मा गरेर ताल खन्न लगाएको कथा सुन्न पाइन्छ । देवीलाई गर्मी भएकाले नुहाउन ताल खनिएको बताइन्छ । तालमा आसपासका स्थानीयवासीहरु माछा मार्न र साग टिप्न आउने गर्छन् ।

तालको संरक्षण धार्मिक आस्थाको रूपमा भए पनि तालको क्षेत्रफल भने मानवीय र प्राकृतिक कारणले घट्दै गएको छ । तालको किनारमा तटबन्ध नगरिँदा तालमा माटो भाँसिदै गएको छ । अहिले वर्षाको समय बाहेक तालमा पानी ४० प्रतिशत मात्र हुन्छ । तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाहरुका लागि खेलमैदान र गौचरणमा परिणत भएको छ । तालमा माछापालन व्यवासाय गरेर स्थानीयवासीहरुले मनग्य आम्दानी गरेका छन् तर ताललाई ठेक्कामा दिएर माछापालन गर्ने बाहेक कुनै काम गरिएको देखिँदैन ।

तालको प्रचार प्रसार नहुँदा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन् । आसपासका गाउँका युवायुवतीका लागि वनभोज स्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय पर्यटन व्यवसायी बताउँछन् । नजिकको तीर्थ हेला भनेझैँ कपिलवस्तुकै स्थानीय निकायले पनि तालको प्रचारप्रसार र संरक्षणमा प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन ।

संरक्षणको पहल

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शङ्करपुर तालमा पर्यटन प्रवद्र्धनका लागि विजयनगर गाउँपालिकाले पहल गर्ने जनाएको छ । तालमा पर्यटन प्रवद्र्धनका लागि रु ४५ करोडको बृहत् कार्य योजना निर्माण भइरहेको छ । गत आर्थिक वर्ष गाउँपालिकाको रु २० लाखबाट तालको विकासका लागि खर्च गरिएको थियो ।

त्यस्तै चालू आर्थिक वर्षमा रु ४० लाखको काम भइरहेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । ताल संरक्षणका लागि आगामी दिनमा कृषि र पर्यटन महोत्सवको आयोजना गर्ने योजनाका साथ अघि बढेको उहाँको भनाइ छ । तालको संरक्षणका लागि स्थानीय सरकारले भौतिक पूर्वाधारको विकास गर्ने जनाएको छ । अध्यक्ष थापाका अनुसार चालू आर्थिक वर्षमा वनभोज स्थल, सडक र पानी निकासका लागि कुलो निर्माण गर्ने योजना रहेको छ । त्रिपालनगरका कृषकहरुलाई सिँचाइ गर्न तालसम्म जोड्ने कुलो निर्माण गर्ने बताइएको छ ।

ताल संरक्षणका लागि गाँउपालिकाको रोहबरमा व्यवस्थापन समिति निर्माण गरी वनभोजस्थल, प्रतीक्षालय र ताल वरिपरि पैदल मार्ग निर्माण गरिने छ । गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ‘ब्रोसर’ तयार गरी प्रचारप्रसार थालेको छ । तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिरहेको स्थानीयवासी हविलाल पुनले बताउनुभयो । धार्मिक महत्व बोकेको शङ्करपुर ताल एक किलोमिटर क्षेत्रभित्र फैलिएको छ । तालको गहिराइ हालसम्म मापन गर्न सकिएको छैन ।

सङ्कटमा ताल

तालको संरक्षण तथा प्रचारप्रसारका लागि केन्द्रिय सरकार र प्रदेश सरकारबाट कुनै पनि पहल नभएको पाइएको छ ।

केन्द्र र प्रदेशका मन्त्रीहरुले पटकपटक अवलोकन गरे पनि कुनै पहल नगर्दा विकास गर्न कठिनाइ भएको स्थानीय अगुवाहरुले बताएका छन । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ तथा वनबाट आएको पानीको फोहर तालमा जम्मा हुँदै गएको छ । तालको वरिपरि बिरुवा उम्रिएर पनि ताल दिन प्रतिदिन साँघुरिँदै गएको छ । पुर्वपश्चिम राजमार्गबाट तालसम्म पुग्न गाडीमा करीब आधा घण्टा लाग्छ ।

नहान र मोहर्रम मेला

तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दूहरुको नहान मेला लाग्दै आएको छ । साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला लाग्ने स्थलका रूपमा शङ्करपुल ताल परिचित छ । नहान मेलामा स्थानीय भक्तजनहरुले सोही तालमा नुहाउने र गौ दान गर्ने गरेको अहिले पनि पाइन्छ ।

त्यस्तै सोही स्थानमा हिन्दु तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ । मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ । सदीऔँदेखि यहाँका हिन्दू तथा मुसलमानहरुले सो स्थानलाई मेलाको आयोजना गरी संरक्षण गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH