सहयोग जुटाउन ब्रम्हण महासभाव्दारा भागवत कथाको आयोजना

February 29, 2020


मिथिलास्थित सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माण हुने भएको छ । ७ करोडको अनुमानित लागतमा निर्माण हुन लागेको सो केन्द्रमा देवीदेवताको लघुचित्र सहितको मिनिएचर एवं मिथिलाको पहिचान, संस्कृति झल्किने विभिन्न वस्तुको संग्रहालयको निर्माण गरिने छ । केन्द्रको भवनका लागि नक्सा तयार समेत पारी सकिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्याससमेत भइसकेको सो केन्द्रको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना रहेको छ । मैथिल ब्राह्मण महासभाद्वारा निर्माण भइरहेको सो केन्द्रको भवन छ तल्लाको रह््ने महासभाका अध्यक्ष भगवान् झाले जानकारी दिए ।
उनका अनुसार केन्द्रको पहिलो तल्लामा सभागृह, दोस्रो तल्लामा देवलोक र तेस्रो तल्लामा मिथिला सङ्ग्रहालय रहनेछ । त्यस्तै भवनको चौथो तल्लामा ई लाइब्रेरी तथा स्टडी सेन्टर र पाँचौँ एवं छैठौँ तल्ला आवासीय रह्ने बताइएको छ ।
अध्यक्ष झाका अनुसार सो केन्द्रको सञ्चालनबाट प्राप्त आम्दानीले हरेक वर्ष सबै समुदायका गरिब छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने योजना रहेको छ ।
भवनको निर्माण कार्य शुरु गर्नु अगाडी महासभाले ७ दिवसीय भागवत कथाको आयोजना गर्न लागेको छ । जानकी मन्दिरमा फागुन १८ गतेदेखि फागुन २४ गतेसम्म वृन्दावनका अभिशेष पाठकले भागवत कथामाथि प्रवचन दिनेछन् । भागवत कथा पूर्व आइतबार बिहान ९ बजे कलश यात्रा निकालिने छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH