जनकपुरमा मठमन्दिरहरुको जग्गा अतिक्रमण रोकिएन

February 27, 2020


मठमन्दिर पोखरी र सरोवरको नगर जनकपुरधाममा गुठीको सार्वजनिक जग्गा बेच्ने र अबैध वस्ती बसाउँने क्रम रोकिएको छैन । जनकपुरमा रहेको अधिकांस धार्मिक स्थलहरुको जग्गा अतिक्रमणको सिकार बन्न थालेको छ ।जनकपुरमा अहिले मठ मन्दिर नै मासेर ७० विघाभन्दा बढी गुठीको जग्गामा अग्ला भवन बनाउँने होड नै चलेको छ । धार्मिक महत्वका पोखरी सरोवर र मन्दिर अतिक्रमण गर्नेलाई कुनै कारबाही भएको छैन । जनकपुरका ४२ भन्दा बढी मन्दिर र कुटी लोप नै भएका छन् भने ती स्थानका भगवानका मुर्ति पनि हराएका छन् । त्यति मात्र होइन गुठ्ठी संस्थान जनकपुरधामको मात्र एक हजार एक सय ८८ कित्ता जग्गा अतिक्रमणमा परेका छन् । प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ। अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन्। अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन्। गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ। अतिक्रमण गर्नेमाथि कसैलाई कारबाही भएको छैन ।
जनकपुरको जग्गा अतिक्रमणका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गठित समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनमा जनकपुरका २५ गुठीको ९ हजार ८४३ बिघा १२ कठ्ठा जग्गा अतिक्रमणमा परेको उल्लेख छ।
धार्मिक र अध्यात्मिक महत्व बोकेको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धार्मिक आस्थाका धरोहर मठमन्दिरका जग्गा जमिन बिक्री गर्ने क्रम रोकिएको छैन, जसका कारण यस क्षेत्रका मठमन्दिर नै लोप हुने अवस्था सिर्जना भएको छ । । २५ वर्ष अघिसम्म टोलै पिच्छे मठमन्दिर र मन्दिरका कुटी रहेपनि संरक्षणको अभाबमा अहिले ती स्थानका मन्दिर र कुटि नै छैनन् । मन्दिरका महन्थको मिलोमतोमा ४२ वटा भन्दा बढि मन्दिर र कुटि त लोप नै भइसकेका छन् भने भगवानको मुर्ति पनि हराएका छन् ।
त्यति मात्र होइन, सार्वजनिक गुठि र निजी गुठिका सदानन्द आश्रम, बिरखकुट्टी, बेलाकुट्टी, जानकी मन्दिर लगायतका सार्वजनिक सम्पत्ति करिब ४४ ठाँउमा अतिक्रमणमा परेका छन् । सरकारी कार्यालय बाहेक ७० बिघा भन्दा बढि जग्गामा निजी घर ठडिएका छन् । कानुनी आधार नभए पनि महन्थले नेपाली कागजमा सही छाप गरेर निजी गुठीका जग्गा अझै पनि बेचिनै रहेका छन् । महालेखा परीक्षकको छपन्नौ वार्षिक प्रतिवेदनमा पनि बिभिन्न मठ मन्दिरको नाममा रहेका गुठ्ठि सस्ंथान जनकपुरधामका मात्र एक हजार एक सय ८८ किता जग्गा अतिक्रमणमा परेको उल्लेख छ ।
धार्मिक एवम सांस्कृतिक महत्व मात्र नभई वातावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएका पोखरी सरोवरको अबस्था पनि दयनीय छ । जनकपुरधामको पोखरी सरोवर, मठमन्दिर र गुठि जग्गा संरक्षण र व्यबस्थापनका लागि २०६२ सालमा गठित भोजराज घिमिरेको प्रतिवेदन अनुसार धार्मिक महत्वाका ५ वटा पोखरी लोप भइसकेका छन् भने १४ वटा पोखरी दुरावस्थामा रहेका छन् । ०६३ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा अतिक्रमणमा परेका जनकपुरका पोखरी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरिएको थियो । सो आयोगले बुझाएको प्रतिवेदन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रतिवेदनका अनुसार विभिन्न १७ वटा युवा क्लब तथा संघसंस्थाले २५ बिघा १० कट्ठा १५ धुर तथा विभिन्न ३२ वटा सरकारी कार्यालयले ४० बिघा ६ कट्ठा १० धुर जग्गा अतिक्रमण गरी उपभोग गर्दै आएका छन् । गुठी अधीनस्थ रहेको जग्गा सात सय १२ बिघा एक कट्ठा, तैनाथी गुठीको जग्गा एक हजार सात सय ४३ बिघा १० कट्ठा १३ धुर, रैतान नम्बरी जग्गा ३६ हजार एक सय तीन बिघा १० कट्ठा चार धुर रहेको गुठी संस्थान जनकपुर शाखाले जनाएको छ ।
अतिक्रमणमा परेका मठमन्दिर, पोखरी सरोवर र सार्वजनिक जग्गाको संरक्षण गर्नु पर्ने हो । तर अझै संरक्षणको काम हुनसकेको छैन । जनकपुरलाई हिन्दु धर्मावलम्बी, अन्वेषणकर्ता र इतिहासकारको गन्तवय स्थल बनाउँन, मठमन्दिर, सरोवर तालतलैयाका साथै गुठीका जग्गाको संरक्षण गर्न तीन तहकै सरकारले बेलैमा ध्यान दिने कि
कुन मन्दिरको कतिजग्गा अतिक्रमण
एक हजार बिघा जग्गा रहेको ठूलो गुठी लक्ष्मीनारायण (मटिहानी) मठ अतिक्रमणमा परेको छ। उक्त मठमा ९ वटा मौजा थिए। ९ मौजामा बिन्धी, सपही, उमा, प्रेमपुर, तलसी, याही, जब्दी फूलभागा, बसहिया, नगराइन, कजरा रमौल र इटहर्वामा गुठी जग्गा रहेको तथ्यांक छ। बसहिया र फूलगाभाको जग्गा राजनीतिक परिवर्तनका बेला सबैभन्दा बढी अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।
६ मौजाको २७४ बिघा १० कठ्ठा जग्गामा ६९ बिघा जग्गा अतिक्रमण परेको छ। बिन्धीको १३ बिघा जग्गामा ६ बिघा १८ कठठ, सपहीको ४३ बिघामा १५ बिघा १० कठ्ठा, उमा प्रेमपुरको सबै १७ बिघा, फूलगामाको १६५ बिघामा ३० बिघा अतिक्रम भइसकेको छ। तीन मौजा अभिलेखमा छैन। राममन्दिर गुठीको २ हजार ८६७ बिघा जग्गा अतिक्रमणको जोखिममा छ। यस्तै जानकी मन्दिरको ५९८ बिघा १० धुर र लक्ष्मण मन्दिरको ४०९ बिघा जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ।
वरही कुटी गुठीको ७ बिघा जग्गा अतिक्रमणमा छ। उक्त गुठीको जग्गा २०५२ सालमा जनकहजारी संस्कृत विद्यापीठलाई दिएको देखिन्छ। त्यसमध्ये २ कित्ता जग्गा रत्नसागर मठका महन्थ बैकुण्ठदास र अशोककुमार शर्मा मिली मोही भएको किर्ते कागज गरी हड्पेको पाइएको छ। उक्त जग्गाका सम्बन्धमा धनुषा जिल्ला अदालतमा किर्ते मुद्दा चलिरहेको छ। राममन्दिरका १६ स्थानको जग्गा अतिक्रमण भएको छ।
राममन्दिरको जग्गा अतिक्रमण गरेर १०३ वटा घर बनेको प्रतिवेदनमा उल्लेख छ। रत्नसागर मन्दिर जग्गा कब्जा गरेर ३३ घर बनाइएका छन्। जानकी मन्दिरको जग्गामा ११८, लक्ष्मण मन्दिरको जग्गामा ८७, कुवा मठको जग्गामा १०५, भागवत बेलाकुटीको जग्गामा १०३ र सीताकुण्डमा तीनवटा घर बनेका छन्। प्रतिवेदनमा अतिक्रमित जग्गा हटाउने भरपर्दो दस्तारसंयन्त्र नभएकाले कारबाही गर्न नसकिएको उल्लेख छ। स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले गुठीको चलअचल सम्पत्ति संरक्षण र गुठी घरजग्गामा स्वीकृतिबेगर जबरजस्ती भोगचलन (अतिक्रमण) गर्नेलाई हटाउन सहयोग नपाएको प्रतिवेदनमा उल्लेख छ। गुठी संस्थान ऐन २०२९ बमोजिम १५ सय बिघा जग्गामा मोही नलाग्ने भनी छुट्याएकोमा सर्भे नापी भई मोही महलमा मोही जनिएको र सो कटाउन भूमिसुधार तथा मालपोतले बेवास्ता गरेको देखिन्छ।
समितिले गुठी जग्गामा अतिक्रमण गरी बसोबास गर्ने व्यक्तिका घरमा बिजुली, खानेपानी, टेलिफोन जडान नगर्न, घरधुरी कायम नगर्न र सरकारी सुविधा प्रदान नगरिदिन स्थानीय सबै तहमा मन्त्रालयबाट निर्देशन जारी गर्ने सुझाव दिएको छ। जनकपुरमा राज गुठीभन्दा निजी गुठी धेरै रहेको प्रतिवेदनमा उल्लेख छ।
एउटै निजी गुठीको २० र २५ बिघाभन्दा बढी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ। बिहार कुण्ड निजी गुठीको तीन सय बिघाभन्दा बढी जग्गा छ। निजी गुठीको सम्पत्ति संरक्षण, रेखदेख, नियन्त्रण, नियमन गर्ने संयन्त्र, निकाय, कानुन कार्य्विधि नभएकाले मनलाग्दी भएको हो।
देवानी संहिताको गुठी महलका आधारमा निजी गुठी सञ्चालन र संरक्षण गर्न समितिले सुझाएको छ। निजी गुठीको सम्पत्ति संरक्षणका लागि वडा प्रमुखको संयोजकत्वमा गुठी, मालपोत, महन्थ, पुजारी, धार्मिक आध्यात्मिक व्यक्तिको व्यवस्थापन समिति निर्माण गर्न मन्त्रालयबाट कार्य्विधि जारी हुनुपर्ने सुझाव प्रतिवेदनमा छ। समितिले गुठी संस्थानको जग्गाको एकिन अवस्था अध्ययन गर्न प्राविधिक स्तरको उच्चस्तरीय समिति बनाउन सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH