मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,परिक्रमा यात्रीको चिल्लीबिल्ली

February 26, 2020

पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ”, उहाँले भन्नुभयो । उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

वर्षाले जाडो बढायो, परिक्रमा यात्रीको चिल्लीबिल्ली

महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जनसहित परेको पानीले थरथरी कमाउने जाडो बढाएको हो । फागुन दोस्रो साता शुरु भएसँगै ह्वात्तै बढेको गर्मीले थन्क्याइएका जाडाका कपडा फेरि निकाल्नुपरेको सर्वसाधारणको प्रतिक्रिया छ । अपराह्नपछि करिब दुई घण्टासम्म परेको पानीले जिल्लाका ग्रामीण सडक हिलाम्य बनाएको छ ।

हिउँद सिद्धिनै लागेका बेला परेको पानीले यहाँको दोस्रो मुख्य बाली गहुँको बाला पोटाउन निकै राहत दिएको छ । त्यसैगरी वैशाखी ‘सिजन’का नयाँ तरकारीका बिरुवालाई पछिल्लो वर्षा अमृत नै भएको किसानले प्रतिक्रिया दिएका छन् । मङ्गलबारको वर्षाले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई भने चिल्लिबिल्ली बनाएको छ । तेस्रो दिनको विश्रामका लागि जिल्लाको सीमावर्ती भारतको मधुवनी जिल्लामा पर्ने फूलहरमा रहेका यात्री पानी पर्न थालेपछि आश्रय खोज्दै नजिकको गाउँबस्ती पसेका थिए । पूmलहरमा पोखरी छेउको गिरिजा मन्दिर छेउमा यात्री बस्ने पुरानो परम्परा छ । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज बुधबार यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका छन् ।

तेस्रो दिनको रात्रिबास छिमेकको भारतमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान) मा गरेका यात्री आज चौथो दिनको रात्रिबासका लागि महोत्तरीको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यात्रीलाई मटिहानीको नेपाल–भारत सीमाक्षेत्रमा नगरप्रमुख हरिप्रसाद मण्डलसहितका मटिहानीवासीले स्वागत गर्नुभएको छ । यात्रीको बसोबास र खानपिन प्रबन्धका लागि मटिहानी नगरपालिका, महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानी, लक्ष्मीनारायण मठ र अन्य सामाजिक सङ्घसंस्था आवश्यक तयारीमा जुटेका नगरप्रमुख मण्डलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH