उखु उत्पादनमा कमी आएपछि रिलयान्स चिनी मिल उखु कृषक अगाडी घुडा टेक्न बाध्य

February 16, 2020

वीरगञ्ज,४ फागुन। चिनीमिललाई बेचेको उखुको मुल्य समयमा नपाएपछि बारा(पर्सा लगायतका क्षेत्रका किसानहरुले उखु रोप्न छोडेका छन् । किसानहरुले उखुको खेती गर्न छोडेपछि यस क्षेत्रमा रहेका चिनी मिल संचालकहरु आजित बनेका छन् । चिनी मिलका लागि उखु मेरुदण्ड हो । चिनीको उत्पादनका लागि उखु नै नपाएपछि चिनी मिल सञ्चालकहरुको विचल्ली हुने पक्का छ ।

पछिल्लो समय उखु कृषकहरुको मुआब्जा चिनी मिलहरुले समयमा नदिँदा उखु कृषकहरु यस क्षेत्रबाट पलायन हुँदै गएका छन् । यसैबिच चिनी उत्पादनका लागि उखुको अभाव भएपछि बाराको रिलायन्स चिनी मिल उखु कृषक अगाडी घुडा टेक्न बाध्य भएको छ ।
रिलायन्स चिनी मिलका बाराका संचालक राजकुमार अग्रवालले पोखरीया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव कलवार प्राविधीक माध्यमिक विधालयको प्रांगणमा भेला भएका किसानहरुलाई उखु रोपन आग्रह गरेका छन् । पोखरीया उखु सेन्टर अन्तर्गत पर्ने किसानहरुको भेलामा उखु रोप्न आग्रहका साथै समयमै चलान दिने र समयमै भुक्तानी गर्ने आग्रह गरेका हुन् । रिलायन्स मिल बाराका संचालक अग्रवालले भेराईटी उखु रोप्न आग्रह गर्दै अब उपरान्त मिलका तर्फबाट मुआब्जाका लागि कुनै किसिमको बाधा नहुने वाचा गरेका थिए ।

किसानहरुले भेराईटि उखु रोप्दा लाग्ने खर्च भन्दा चिनी मिलले दिने मुआब्जा न्युन भएको गुनासो गरेका थिए । त्यस्तै नेपाल सरकारले तोकेको दर भाउ र मिती भित्र भुक्तानी दिन नसकेको, समयमा चलान नदिएको, चलान पाउन दौडधुप तथा चलान खरिद गर्नु पर्ने अवस्था, र समयमै चिनिमिल संचालन नहुँदा उखु क्रसिंगमा समस्या भएका कारणले उखु रोप्नबाट निरास भएको किसान हकहित संघर्ष समिती पर्साका सचिव पृथ्बी साह कानुले भने ।

चिनिमिलका मैनेजर विकास चौधरी, क्रेन मैनेजर द्धारिका नाथ पाण्डेको सहभागीतामा भएको किसानहरुको भेलामा आर्थिक बर्ष ०७४।०७५ को ५ रुपैया ३६ पैसाको दरले २९ क्वीन्टल उखु क्रसरको रकम १ करोड ५५ लाख ४४ हजार बाकी रहेकोले सो रकम भुक्तानी गर्न उखु उत्पादन किसान संघ पर्साका अध्यक्ष असर्फी साहले माग गरेका थिए ।

मिललाई उखु बेच्दा समयमै भुक्तानी दिने आश्वासन दिने भनेपनि महिनौ बित्दा पनि भुक्तानी नआएकाले आफुहरु उखु कृषीबाट पलायन भएको किसानहरुले गुनासो गरेका थिए । रिलायन्स चिनी मिलको रवैयाका कारण उखु रोप्नका लागि लिएको क्रण तिर्न खेत समेत बेच्नु परेको किसानहरुले दुखेको पोखे । कार्यक्रममा पोखरीया सेन्टर सम्बद्ध सयौ किसानहरुको सहभागीता रहेको थियो ।

यस क्षेत्रमा रहेका बाराको रिलायन्स चिनी मिलसँगै गरुडा श्रीरामका चिनी मिल, हरिवनका ईन्दुशंकर चिनी मिल, महालक्ष्मी चिनी मिल, अन्नपुर्ण चिनी मिल लगायतका चिनी मिलहरु उखु कृषकहरुको भुक्तानी नदिनेहरुको सुचीमा अग्रपंक्तिमा देखिन्छन् ।

विभिन्न जिल्लामा गरी किसानहरुले चिनी मिलबाट एक अर्ब २९ करोड बराबरको भुक्तानी लिन बाँकी छ । सर्लाही जिल्लामा मात्र करिब २५ हजार उखु कृषकहरुले चिनी मिलबाट ८० करोड बराबरको बक्र्यौता रकम भूक्तानी पाएका छैनन् । प्रदेश २ को सर्लाहीमा सञ्चालित अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलले २०७० सालदेखिको करिब ८० करोड बराबरको भुक्तानी रोकिराखेको छ ।

अन्नपूर्ण सुगर मिलबाट ५० करोड र महालक्ष्मी सुगर मिलबाट २१ करोड बक्यौता रकम भुक्तानी बाँकी रहेको पीडित किसानहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH